इनरुवा(सुनसरी), १० भदौं । सुनसरी सदरमुकाम इनरुवा सहित मिथिलाञ्चलमा मङगलबार साझ चौठचन्द्र(चौरचन) पर्व श्रद्धापूर्वक मनाइएको छ ।
इनरुवा, कोसी, भोक्राहा, हरिनगर, देवानगन्ज, बर्जु, गढी, दुहबी, इटहरी, धरान, बराहक्षेत्र, रामधुनीलगायतका क्षेत्रमा बसोबास गर्ने मैथली समुदायका ब्यक्तिले श्रद्धापूर्वक चौठचन्द्र(चौरचन) पुजा गरेका छन् ।
भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन यो पर्व मनाउदै आएका छन् । मैथलि समुदायका मानिसले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् ।
पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा अनुसार घरका व्रतालु महिलाले चन्द्रमालाई अर्घ दिएर पूजा अर्चना गरी पर्व सम्पन्न हुने गरेको मिथलेश झाले बताउनुभयो ।
यस पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्विप प्रज्वलन गर्दै उपवास बसेको व्रतालुले पुजासंगै फलफूल र मिष्टानको परिकारलाई प्रसादको रुपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा छ ।
नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ । प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ ।
चाचौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यता अनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाइ, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा रहेको छ ।
मिथला क्षेत्रमा मानिसले बिषेश गरेर सन्तान प्राप्ती, परिवारीक शुख शान्ति र समृद्धिको कामना सहित यो पर्व मनाउने गरिन्छ भने गरेको भाकल पुरा भएपछि समेत कतिपै मानिसले यो पर्व मनाउने गरेका छन् ।–––