इनरुवा(सुनसरी), २० असोज । शनिबार बिहानै देखि तराई तथा पूर्वी पहाडि जिल्लामा भएको बर्षासंगै सप्तकोसी नदी रौद्र रुपधारण गर्दा सुनसरी, सप्तरीसंगै भारत बिहार राज्यका केही जिल्ला अशान्त रहेको थियो । बर्षाका कारणले सप्तकोसी नदीमा गएराति ५ लाख ३३ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो भने ५६ वटै ढोका खोलिएको थियो । सवारी अवागमनमा समेत रोक लगाएको थियो । सोमबार बिहानैबाट बर्षा रोकिएसंगै सप्तकोसी नदीमा समेत क्रमसः पानीको बहाव घट्दो क्रममा रहेको छ । सोमबार बिहान ६ ः बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर सप्तकोसी नदीबाट बग्ने पानीको बहाव ४ लाख ३५ हजार ३०५ क्युसेक प्रति सेकेण्ड रहेको थियो । सोमबार दिउँसो ११ बजेको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने सप्तकोसी नदीको पानीको बहाव ३ लाख १८ हजार १५० क्युसेक प्रतिसकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताउनुभयो ।
राति देखि नै पानी रोकिएसंगै सप्तकोसी नदीमा पानीको बहाव घट्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव थेबेले बताउनुभयो । अहिले कोसी ब्यारेजको ५६ वटा ढोका मध्यै ४५ वटा ढोका खोलिएको उहाँले बताउनुभयो ।
पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरुप रातो बत्ति बालिएको छ भने रातो झण्डा समेत फहराइएको छ । सोमबार बिहानै देखि कोसी ब्यारेज भएर जाने सवारी साधनको अवागमन समेत सुचारु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।
सप्तकोसी नदी बिस्तै शान्त हुदै गएको छ । बर्षाका कारणले शनिबार देखि रौद्ररुपधारण गरेको सप्तकोसी नदी बिस्तारै शान्त हुदा अर्थात पानीको बहाव घट्दा भारत बिहार राज्यका केही जिल्लाका नागरीकलाई समेत राहत हुने सीमा क्षेत्रका स्थानीयवासीको भनाई छ ।–––